नङ्ग्रीको मामाघर- बालकथा

नङ्ग्रीलाई आफ्नो मामाघरको संझना आइरहन्छ । ऊ सानी हुँदा उनीहरु पनि मामाघर नजिकैको एउटा ठूलो रुखको हाँगोमा लाटो कोसेरो बस्ती भएको ठाँउमा बस्दथे । उनीहरुको गूँढघर रुखको टुप्पोमा थियो । त्यहाँ अरु धेरै उनीहरु जस्तै लाटोकोसेरोले पनि गूँढ लगाएर बसेका थिए । उनीहरु दिनभरी आफ्नो गूँढमा मस्तसँग सुत्दथ्ये अनि राति ठिक त्यसको उल्टो चारा खोज्न जान्थे । उनीहरुको जाति अरु चराहरु भन्दा भिन्न खालको थियो किनभने त्यो जाति राति आँखा देख्दैनन् । त्यसैले अरुको दिन उनीहरुको रात, अरु चराको रात उनीहरुको दिन हुन्छ । 

नङ्ग्रीलाई संझना छ उसको मामाघर ठूलो सेतो घरभित्रको बगैंचाको छेउमा भएका धेरै रुखहरुको मध्येको एउटा रुखमा थियो । त्यो ठूलो सेतो घरलाई उसले “दरबार” भनेको सुनेकी थिई । त्यो दरबारमा असल जातका धेरै रुखहरु थिए । ती रुखहरु मोटा र अग्ला थिए । कोही भने होचा र झ्याम्म परेमा पनि थिए । त्यहाँ फलफूल र फूलविरुवाका पनि अनेक थरी बोट थिए । राती सबै प्राणी जातिले विश्राम गरेपछि वातावरण शान्त हुन्थ्यो । त्यस्तो बेला ती लाटोकोसेरो जाति भने उठेर दरबारको बगैंचा घुम्थ्ये । त्यहाँ भएका अनेकथरी फलफूलहरु रोजिरोजिकन ठुङ्गदथ्ये । 

नङ्ग्रीको परिवार र अरु पनि थुप्रै उनीहरुका टोल छिमेकीहरु त्यहाँबाट बसाइँ सरेको पनि धेरै भइसकेको छ । त्यसबेला उ सानीचरी थिई । तर अहिले उसको पनि आफ्नै धेरै बचेराहरु हुर्केर स्वतन्त्र भैसके । 

ऊ सानी हुँदा एकदिन मध्य रातमा उसको निद्रा खुल्यो । त्यसबेला उसले तल सडकमा मोटरका ताँती देखी । बाटो हिड्ने मान्छेको पनि सडकमा त्यतिकै लर्को थियो । त्यसबेला उनीहरुको मध्यरात भएपनि मान्छे जातिको भने मध्य दिन थियो । त्यो देखेर नङ्ग्रीलाई “के होला यस्तो” भनेर अचम्म र डर लाग्यो । भोलिपल्ट उसले आफ्नी आमासँग त्यो कुरा भन्दा पो त्यसबेला मान्छे जातिको दिउसो हुन्छ भन्ने कुरा थाहा पाई । 

केही समयपछि नङ्ग्रीको परिवार त्यहाँबाट बसाइँ सरे । बसार्इँ सर्नेबेलामा नङ्ग्रीका बुबाले आफन्तहरुसँग “अब यहाँ बस्नु ठिक छैन । मान्छे जातिको चाप बढ्दै गएर यहाँका रुखहरु काटिदैछन् । यहाँ बस्नाले हाम्रो वंशनै मासिने संभावना छ । यहाँको वातावरण पनि हामी बस्न नसक्ने हुँदैछ । त्यसैले ससुराज्यू, जेठानज्यू, अनि आत्मीय छिमेकीज्यूहरु सबै मिलेर अन्त कतै बस्न जाउँ” भन्यो । तर उनीहरुले “आफ्ना पिता–पूर्खाको ठाउँ छोडेर कतै नजाने” भनेपछि उनीहरु कोही अन्तै बसाइँँ सर्न गएनन् । नभन्दै नङ्ग्रीहरुले छोडेपछि त्यो ठाँउका ठूला रुखहरु सबै काटिए । 

नङ्ग्रीलाई पुरानो थलोको संझनाले बारंबार घचघचाउँथ्यो । आफ्नो पुरानो थलो हेर्ने इच्छा आइरहन्थ्यो । अब त ऊ पाकी चरी भैसकेकी थिई । एकदिन उसले आफ्नो भालेलाई “हिड हामी एकपटक पुरानो थलोतिर घुम्न जाँउ ?” भनी । भाले लाटोकोसेरोलाई पनि पुरानो थलोको याद बेलामौकामा आइरहन्थ्यो । उसलाई पनि त्यहाँ भएका आफ्ना परिवार इष्टमित्रलाई भेट्न मन लागेको थियो । त्यसैले उसले “हुन्छ” भन्यो । 

भोलिपल्ट विहान सखारै उनीहरु साथीभाई भेट्न भनेर पुरानो थलोतिर उडे । बाटो छल्लिंदै, पत्ता लगाउँदै गरेर बल्ल तल्ल केही दिन पछि त्यहाँ पुगे । त्यो ठाँउ अर्कै जस्तो भैसकेको थियो । सबैभन्दा अग्लो र बूढो रुख जहाँ नङ्ग्रीका बाबुआमा बस्दथ्ये त्यो पनि सुकिसकेको थियो । त्यहाँ पातला केही पुराना, ढल्ने बेला भएका रुख मात्र बाँकी थिए । त्यस्तो बाक्लो, लोभलाग्दो, जङ्गल जस्तो ठाँउमा केही थिएन । हरियालीको सट्टा अग्ला घरहरु मात्र थिए । पहिले त त्यहाँ सुगा–मैना, मयूर, हरिण जस्ता पशुपंक्षी रमाएर, चरेर बस्थ्ये । आफ्नो पुरानो थलोको त्यो बिजोग देख्दा नङ्ग्रीको आँखा रसायो । उसले आफ्नो भालेलाई “यस्तो सुख्खा बन्जर जस्तो ठाँउमा बस्नुभन्दा त आफ्नै हरियो जंगल रमाइलो । हिड जतिसक्दो चाँडो यहाँबाट फर्किउँ” भन्दै पखेंटा फड्काउँदै त्यहाँबाट आफ्नो बस्तितिर फर्किए । 

Comments

Popular posts from this blog

स्वप्न नगरी-नियात्रा

अन्तरंग-विनोद दाहाल: बाल साहित्यको रचनाकार पनि बालकै बन्नुपर्छ: रञ्जुश्री

लकडाउँन र भिडियो च्याट