अन्तरंग-विनोद दाहाल: बाल साहित्यको रचनाकार पनि बालकै बन्नुपर्छ: रञ्जुश्री

रञ्जुश्री पराजुली बालसाहित्यको वरिष्ठ सर्जक हुन् । त्यसै त नारी स्रष्टाहरू नेपाली साहित्यमा कमै छन् त्यसमा पनि झन बालसाहित्यमा त खडेरी नै छ भन्दा हुन्छ । थोरै स्रष्टहरूको पंक्तिमा उभिएकी छन् रञ्जुश्री । उनले कविताको क्षेत्र अँगालिनन् । उनले त कथालाई पो आफ्नो लेखनको क्षेत्र छनोट गरिन् । यसको पनि एउटा कारण रहेछ । 
उनी विदेशमा बसिछन् । उनका छोरा दिपेन्द्र पराजुली बेलायतमा पढ्दारहेछन् । पश्चिमा मुलुकमा बालबच्चालाई बढी नै महत्व दिएको उनले देखिन् । बालबालिकालाई केन्द्रमा राखेर साहित्य लेखेको पनि उनले पाइन् । विद्यालयहरूमा उनीहरूलाई पढाइमा भन्दा खेलाउने र रमाइला कथा भन्ने, सुनाउने गरेको पनि पाइन्  । उनका छोरा दिपेन्द्र दिनदिनै स्कुलमा यस्ता कथा सुनेर आउँथे र घरमा आमालाई पनि यस्तै कथाहरू भन्न लगाउने गर्थे । 
उनी छोराले यसरी कथा सुनाएको र आपूmले पनि छोराका लागि कथा भन्नुपर्ने हुँदा बिस्तारै कथातर्फ आकर्षित भइन् । क्रमशः आपूm पनि कथा लेखनतर्फ अगाडि बढिन् । यसैमा उनको रस बस्दै गयो । बिस्तारै ती बालकथाका रूपमा परिमार्जित हुनथाले र उनी नेपाली बालकथाकारका रूपमा स्थापित हुन पुगिन् । 
हाल रञ्जुश्री काठमाडौं चक्रपथ बासबारीको मूल सडकमै जोडिएको ठूलो परिसरसहितको घरमा बस्तै आएकी छन् । तर, छोराछोरी विदेशमै छन् र श्रीमान् फुल कर्णेल डा. दामोदरप्रसाद पराजुलीको गत वर्ष निधन भएपछि उनी हाल केही सहयोगीहरूका साथ त्यहाँ बस्दैआएकी छन् । म उनलाई खोज्दै उनका घरैमा पुगेँ । उनी घरैमा भेटिइन्, यसको प्रबन्ध पहिले नै मिलाइएको थियो हाते फोनबाट । 
उनी सहरी परिवेशमा जन्मिन्, हुर्किन् । कुनै प्रकारको अभाव झेल्नु परेन । किनकि उनका पिता ठाकुरनाथ भट्टराई डाक्टर थिए र सेनाका सहयक रथि पनि । आमा सुशीला भट्राईले पनि उनलाई राम्रो बात्सल्य दिएरै हुर्काइन् । काठमाडौं कालधाराका रैथाने कुलीन ब्राह्मण परिवार । उनका एक दाजु वनअधिकृत तारानाथ र भाइ डा. तिलकनाथ पराजुली । थोरै छोराछोरी, सानो परिवार र छोरी उनैमात्र । अनि न त मायाको कमी न अर्थिक अभाव । 
सुरुमा उनले लैनचौरको शान्ति विद्यागृहमा पढिन् । त्यहाँ लामो समय पढेपनि अन्तिममा एसएलसी भने नारी ज्ञानमन्दिरबाट गरिन् । उनले उच्च शिक्षा बागबजारको पद्मकन्या क्याम्पसबाट ग्रहण गरिन्, आईए अनि बिए ।  एमए भने त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट गरिन् नेपाली विषयमा । 
२०३४ सालमा आपूmले पढेको पद्मकन्या क्याम्पसबाटै उनले प्राध्यापन सुरु गरिन् । त्यसको ठीक ३४ वर्षपछि कतै सरुवा नभई त्यही क्याम्पसबाटै उनी सेवा निवृत्त भइन् । यसरी उनले प्राध्यापनमा एउटै क्याम्पसबाट सेवा सुरु गरी सोही क्याम्पसबाट सहप्राध्यापकसम्म भई अवकास लिएर एउटा अनौठो कीर्तिमान कायम राखिन् । 
उनले यसैगरी साहित्यमा केही कीर्तिमानी काम गरेकी छन् । त्यो हो नेपालकै इतिहासमा उनी पहिलो नारी नियात्राकार हुनसक्नु । २०४२ सालमा प्रकाशित उनको निबन्ध संग्रहमा उनका केही संस्मरण र केही नियात्राहरू पनि समेटिएका थिए जुन नेपाली नारीबाट लेखिएका पहिला नियात्राका रूपमा ती अभिलिखित भए । 
२०२७ सालमा उनको विवाह भयो डा. दामोदरप्रसाद पराजुली नेपालको पहिलो नसारोग विशेषज्ञसँग । उनका एक छोरा र एक छोरी छन् । रञ्जुश्रीले जागिर सुरु गरेकै वर्ष लेखन पनि सुरु गरिन् २०३४ सालमै । पढाउन तयार पारेका नोटहरू नै केही सिर्जना जस्ता लाग्न थाले उनलाई । हो, त्यो बेला पढाउनका लागि पर्याप्त पाठ्यसामग्री उपलब्ध थिएनन् ।  रञ्जुले तिनै नोटलाई परिमार्जन गर्न थालिन् र समालोचनाका रूपमा तिनको प्रकाशनको सोच बनाइन् । 
उनले सबैभन्दा पहिले नेपालको पहिलो आधुनिक कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथाको समालोचना प्रकाशित गरिन् ‘रमझम’ पत्रिकामा । यो पत्रिका साहित्यकार निरबिक्रम प्यासीको सम्पादकत्वमा राजदरवारबाट प्रकाशित हुन्थ्यो । उनैले स्नेहवत् रूपमा लगेर यो छापिदिएका थिए । त्यसो त समालोचना त सिर्जना होइन नि मैले उनलाई सोधेँ । यो एउटा छुट्टै विधा पनि होइन । सिर्जनामा आफ्नो भाव हुन्छ र यसले अरूलाई आकर्षण गर्छ । सिर्जनामा रस पनि हुन्छ ।
 उता समालोेचना त निरस लेखन हो कि ! मेरो विचारसँग उनी सहमत भइनन् ।  समालोचनालाई कथा, कविता, निबन्ध, नाटक, उपन्यास जस्तै विधाका रूपमा स्वीकारिएको तर्क गरिन् उनले । अनि सिर्जनामा जस्तो मानिसलाई झट्ट आकर्षण दिन नसके पनि समालोचना बौद्धिक मानिसले मात्र गर्न सक्ने निकै अध्ययन अनुसन्धान गरेर बौद्धिक मानिसकै लागि लेखिने विधा हो भन्ने तर्कमा उनले  जोड दिइन् । 
उनले लेखनमा बालसाहित्यको पाटो रोजिन् र त्यसमा पनि कथालाई अँगालिन् । अहिले पनि उनी दिनहुँ केही न केही लेख्छिन् । लेखन  आत्मसन्तुष्टिका लागि गरिन्छ भन्छिन् उनी । त्यसबाट प्राप्तिको आशा राखिँदैन भन्ने उनको मान्यता छ । प्रौढ साहित्य र बालसाहित्यमध्ये लेखनमा कुन जटिल छ भन्दा उनी पहिलो कुरो त साहित्य सिर्जना वा अन्य लेखन सबै सजिलो काम होइन भन्छिन् । अध्ययन, चिन्तन, मनन, विवेचना विश्लेषण नगरी कुनै पनि लेखन गर्न सकिँदैन, शब्द, भाषा आदि केलाएर आपूm त्यसभित्र पसेर मात्र लेख्न सकिन्छ । त्यसमा पनि नबुझेका मानिसले हेर्दा बाल साहित्य सजिलो देख्छन् तर यो झन जटिल छ भन्ने उनलाई लाग्छ । 
ठूलाले बालकका लागि लेख्ने वा बालकले बालकका लागि लेख्ने साहित्य बाल साहित्य हो । यस्तो साहित्य सिर्जना गर्न आपूm पनि बालकै बन्नुपर्छ भन्ने उनलाई लाग्छ । बालकको मनोभावना बुझेर, तिनको चाहना र रहर बुझेर तिनले बुझ्ने शब्द छनोट गरेर र तिनका लागि सहज भाव संप्रेषण गरेर मात्र बालसाहित्य सिर्जना गर्नुपर्ने हुन्छ । त्यसैले यो निकै जटिल काम हो भन्ने उनलाई लाग्छ । उनले कविता धेरै लेखेकी छैनन्, फाट्टफुट्ट मात्र छन् । कथामै उनी सिद्धहस्त छन्, उनी यसैमा रमाएकी छन् । उनका बालसाहित्यका १५ वटा र प्रौढसाहित्यका ६ वटा कृतिहरू प्रकाशित छन् । 
रञ्जुश्री पराजुलीको २०३४ सालबाट सुरु भएको लेखन यात्रा ४६ वर्षसम्म पनि निरन्तर जारी छ । उनले आफ्नो ७१ वर्षे जीवन वयमा र स्वदेश तथा विदेशको आउजाउको व्यस्तताबाट पनि समय निकालेर साधना गर्ने गरेकी छन् । त्यसैले त उनी भन्छिन्, ‘दिनमा केही न केही लेख्ने बानी छ । लेखिँन भने केही छुटेको जस्तो लाग्छ ।’ 
रञ्जुश्री पराजुली आनन्दानुभूतिका लेख्छु भन्छिन् । धेरै लेखक साहित्यकार यसै भन्छन् । विदेशतिर कमाउनका लागि पनि लेख्छन् । यहाँ लेखनबाट कमाइ नहुने भएका कारण लेखकहरूले यसो भनेको हुनसक्छ । जे होस् यसो भन्नेका पंक्तिमा उनी पनि उभिएकी छन् । लेखेर जीविका गर्न सकिने वातावरण नेपालमा अझै पनि बन्न नसकेको उनले देखेकी छन् । महिलाहरूका लागि त झनै अप्ठ्यारो देख्छिन् उनी । समय निकाल्नै मुस्किल, अनि बाहिर जान झनै मुस्किल । 
उनले लेखनबाट पाएको प्राप्ति भनेको आनन्दानुभूति नै हो भन्ने उनलाई लाग्छ । आर्थिक उपार्जन भएको छैन बरु प्रकाशनका लागि उनको खर्च भएको छ । उनी आफ्ना कृतिहरू केही सिमित मानिसले मात्र भए पनि किनिदिए र पढिदिए भने पुग्छ भन्छिन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो शाकुन्तल महाकाव्य औलामा गन्न सकिने मानिसले बुझिदिए भने पर्याप्त हुन्छ भनेको कुरा रञ्जुश्रीको यो अभिव्यक्तिले सम्झाएको छ । उनी पाठकहरूले आफ्ना  पुस्तक पढेर दिएको प्रतिक्रिया आपूmलाई अपार आनन्दको लाग्ने कुरा हो भन्छिन् । लेखेर नाम, पहिचान र पाठक अनि तिनको माया पाएकी छु भन्छिन् उनी । यो नै लेखकका लागि ठूलो सम्पत्ति हो भन्ने उनलाई लागेको छ । 
नेपाली साहित्यको श्रीवृद्धिका लागि हामीले धेरै गर्न बाँकी छ भन्ने उनलाई लाग्छ । यसका लागि उनी केही सुझावहरू पनि दिन्छिन् । विद्वानहरू बस्नुपर्छ, समस्याहरू केलाउनुपर्छ, विषय निर्धारण गर्नुपर्छ, तिनमा छलफल गर्नुपर्छ, अभिमुखीकरण गर्नुपर्छ भन्ने उनलाई लागेको छ जुन हुन सकिरहेको छैन । हाम्रो पढ्ने अभ्यासमा पनि कमी छ । हामी हाम्रै साहित्य पढिरहेका छैनौँ अरूको त कुरै भएन । विश्व साहित्यको अध्ययन गर्नुपर्छ त्यसको प्रवाह र प्रभाव हेर्नुपर्छ । कुन कुन विधाको विकास कसरी भइरहेको छ भन्ने थाहा पाउनुपर्छ र त्यसको प्रभाव हाम्रोमा पनि भित्र्याउनुपर्छ उनी भन्छिन् । 
नेपाल बाल साहित्यसमाज, सुनकोसी साहित्य प्रतिष्ठान, गीता समुदाय प्रकाशन, नारी साहित्य केन्द्र, बनिता प्रकाशन, नियात्रा समाज, केटाकेटी मिडिया, बालसाहित्य प्रतिष्ठान जस्ता संघसंस्थाहरूमा आजीवन सदस्य भएर उनी नेपाली साहित्यको सेवा गरिरहेकी छन् । त्यसो त उनले पुरस्कारका लागि लेखिनन् तैपनि उनले धेरै प्रतिष्ठित पुरस्कारहरू पाएकी छन् । उनले पाएका यस्ता विभिन्न मान सम्मान र पुरस्कारहरू झण्डै डेढ दर्जन जतिका संख्यामा छन् । 
उनलाई साहित्यका क्षेत्रमा केही गरेको जस्तो लाग्छ तर फेरि उनी यसलाई सानो प्रयास मात्रै ठान्छिन् ।  आपूmले सकेको जति गरेकोमा उनी सन्तुष्ट छु भन्छिन् । सन्तुष्टि पनि आपूmले लिने कुरो हो । उनले धेरै ठूलो अपेक्षा गरिनन्, असम्भव चाहना राखिनन् । यसैले उनी जीवनमा खुसी छन् । असम्भव चाहना राखेको भए ती पूरा हुने थिएनन् र तिनले असन्तुष्टि जन्माउने पक्का थियो । 
धेरै आशावादी भएरमात्र हुँदैन भन्ने उनलाई लाग्छ । आफ्नो आर्थिक पारिवारिक अवस्था राम्रो नभएको भए यहाँसम्म आइपुग्न पनि सम्भव थिएन भन्ने उनलाई लाग्छ । उनको भावि योजना पनि केही छैन । उनी योजनै बनाएर केही काम गर्दिनन्, जे सामुमा आइपर्छ त्यही गर्ने हो ।  लेखनमा पनि उनका खासै योजनाहरू हुँदैनन् । लेखनलाई विश्राम दिएकी छैनन् उनले, नियमित रूपमै लेखिरहेकी छन् । उनको विचारमा योजनाहरू आफैँ बन्दै जान्छन् । अगाडि जे आउँछ त्यही गर्दै जानुपर्छ । 
जीवनलाई सहज तरिकाले लिएकी छु भन्छिन् रञ्जुश्री । उनको जीवन सहज तरिकाले बगेको पनि छ । कुराकानीलाई बिट मार्ने क्रममा उनले केही महत्वपूर्ण  विचार व्यक्ति गरिन् । नेपाली साहित्यको स्तर बढ्दै जाओस् । नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको बनोस् । उनले नेपाली साहित्य र साहित्यकारहरू पनि अन्र्राष्ट्रिय स्तरका देखेकी छन् । नोबेल पुरस्कारको माग दावि गर्न सकिने कृति र कृतिकारहरू पनि नेपाली साहित्यमा छन् तर, हाम्रो यो प्रतिभा र क्षमता त्यहाँसम्म पु¥याउन सकिएको छैन् भन्ने उनलाई लाग्छ । 
आपसी एकता र समन्वयको कमीले पनि हामी पछि परिरहेका छौँ भन्ने उनलाई लागेको छ । नेपाली साहित्यको श्रीवृद्धि होस्, उनको चाहना र कामना पूरा होस् । नेपाली साहित्यले नोबेल पुरस्कार पाओस्, उनको कामना र हाम्रो पनि यही कामना ।  

Comments

Popular posts from this blog

स्वप्न नगरी-नियात्रा

लकडाउँन र भिडियो च्याट